
प्रज्ञा तिम्लिसिना
काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भएको ८ महिनाको अवधिमा १ करोड ९२ हजार नेपालीले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याकअनुसार नेपालको जनसंख्याको १५ प्रतिशत व्यक्तिले दुवै डोज खोप पुरा गरेका छन् । सरकारले असोज महिनाभित्र ३३ प्रतिशत नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने योजना बनाएकाे छ । सरकारले लक्ष्य पुरा गर्न अबको झण्डै डेढ १ महिनाभित्र थप १८ प्रतिशत व्यक्तिलाई खोप दिनु पर्ने हुन्छ । जुन त्यति सजिलो छैन ।
५४ लाख २४ हजार व्यक्तिले पहिलो मात्रा लगाएका छन् । कोभिशील्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाउन अझै २१ लाख २१ हजार व्यक्ति बाँकी छन् । के अबको १ महिनाभित्र १८ प्रतिशत व्यक्तिलाई खोप लगाउन सम्भव छ त ? भन्ने इमेजकर्मीकाे जिज्ञासामा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारी भन्नुहुन्छ, ‘खोप आउने क्रममा जारी छ, यही कार्ययोजना अनुसार खोप आए सरकारको योजना पुरा हुन्छ ।’
मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु हाल खोप स्टकमा नभएको तर पाइप लाइनमा रहेका खोपको आधारमा सरकारले योजना बनाएको बताउँछन् । सहप्रवक्ता डा.अधिकारी खोप केही मात्रामा स्टक रहेको र आउने क्रम बढे लगाउनेको संख्यासमेत बढाउने बताउनु हुन्छ ।
मन्त्रालयका अनुसार असोज र कार्तिक महिनामा भेरोसेल ४२ लाख डोज र ३ लाख ४८ हजार एस्ट्राजेनेका खोप पाइप लाइनमा छन् । फाइजरको खोप कार्तिक र पुष महिनामा गरेर ६० लाख आउने , फागुनमा मोर्डनाको ४० लाख डोज खोप पाइपलाइनमा छन् । यि सबै गरेर १ करोड ४५ लाख डोज खोप चैत्र महिनाभित्र खरिदमार्फत आउँदैछ ।
बाँकी कोभ्याक्स कार्यक्रमबाट आउने जनाइएको छ । सरकारले जनसंख्याको ७१ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७ सय २३ जनालाई खोप लगाउने जनाएको छ । हाल खोपको अभाव नदेखिएकाले लक्ष्यअनुसार समयमै खोप लगाउनेको संख्यामा बढाउन सके सम्भावित तेस्रो लहरलाई नियन्त्रण गर्न सक्ने आधार बन्ने थियो ।
प्रतिक्रिया दिनुहोस्