२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


शेयर बजारमा पहिरो : नेप्से एक सय आठ अंकले झरेर २८ सय १८ मा थामिदा सवा ११ अर्बको कारोबार


0
Shares

काठमाडौं । साताको सुरुको दिन आज शेयर बजारमा पहिरो गएको छ । एकै बजे नेप्से ५ प्रतिशतले घटेसँगै नेगेटिभ सर्किट ब्रेकनै लागेकाे छ । बजार खुलेदेखि निरन्तर ओरालो लाग्दै नेप्सेमा १ सय २५ अंक अर्थात् पाँच प्रतिशतले गिरावट आएसंगै एक्सचेन्जले ४० मिनेटका लागि कारोबार स्थगन गरेको थियो ।

कारोबार पुनः सुरु भएसँगै नेप्से उतार चढावबीच एक सय आठ अंकले ओरालो लागेर २८ सय १८ मा आई थामिएको हो । सबै समूहमा उच्च गिरावट आउँदा कारोबार भने सवा ११ अर्ब हाराहारीमा पुगेकाे हाे । बीमा समूह दुवैमा ५ सय अंक बढीको गिरावट आएकाे छ । विकास बैंक समूहमा ३ सय ९४ अंकको गिरावट आयो ।

वित्त, जलविद्युत र व्यापार समूहमा पनि २ सय अंकमाथिको गिरावट आयो हाे। उत्पादनमूलक, होटल तथा पर्यटन र लघुवित्त समूह पनि २ अंक हाराहारीले ओर्लिए । अन्य र वाणिज्य बैंक समूह पनि दोहोरो अंकले ओरालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ७९ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ६ कम्पनीको मूल्य बढ्यो । यस दिन नेप्सेमा २ सय २३ कम्पनीको २ करोड ३० लाख कित्ता शेयर ११ अर्ब २४ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।