
काठमाडौं । नेपाली कांग्रेसको वडा अधिवेशन अन्र्तगत बाग्मती प्रदेशका ४ जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको छ । बागमती प्रदेशको ललितपुर, नुवाकोट, धादिङ र चितवन जिल्लाका वडाहरुमा अधिवेशन भइरहेको निर्वाचन समितिले जनाएको छ ।
ललितपुर जिल्लाका ६ वटा स्थानीय तहका ७१ वटै वडामा एकैसाथ अधिवेशन सुरु भएको नेपाली कांग्रेस ललितपुरले जनाएको छ । ललितपुरका ८० प्रतिशत वडामा सर्वसम्मत नेतृत्व टुङ्गिएको र अन्यमा पनि सहमतिमै टुङ्गो लगाउने प्रयास भइरहेको कांग्रेस जिल्ला सभापति मदन अमात्यले जानकारी दिनुभएको छ ।
ललितपुरमा ५ हजार पुराना र ५ हजार नयाँ गरी कुल १० हजार क्रियाशील सदस्य रहेका छन् । यस्तै, नुवाकोट जिल्लाका १२ वटा स्थानीय तहका ८८ वडा मध्ये ३२ वडामा सर्वसम्मत नेतृत्व चयनका लागि सहमति र बाँकी वडामा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । नुवाकोटमा १४ हजार ६ सय २८ क्रियाशील सदस्य रहेका छन् ।
यस्तै, १२ वटा स्थानीय तहका १०४ वडा रहेको धादिङमा पनि वडाहरुको सहमतीमा नेतृत्व चयनको प्रयास भइरहेको छ । धादिङमा १२ हजार क्रियाशील सदस्य रहेका छन् । ७ स्थानीय तहका ९८ वडा रहेको चितवनमा पनि अधिवेशन भइरहेको छ । चितवनमा २७ हजार ८ सय ५५ जना क्रियाशील सदस्य रहेको कांग्रेस चितवनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्