१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


असोज एक देखि काठमाडौं उपत्यकाका विद्यालय खुल्ने

कोरोना त्रासबीच डेढ वर्षपछि पठनपाठनको जोरजुलुम

0
Shares

काठमाडौं । कोभिड–१९ को अत्यासलाग्दो संक्रमणले डेढ वर्षदेखि बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने भएका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले संक्रमणको अवस्था हेरेर स्थानीय तहले विद्यालय खोल्न सक्ने निर्णय गरेका हुन् । विद्यालय खोल्नुअघि स्थानीय तहहरूले अभिभावक र शिक्षकसँग छलफल भने गर्नुपर्नेछ ।

विद्यालय सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्नुपर्ने र सोको पालना भएको/नभएकोबारे स्थानीय तहले नियमित अनुगमन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । केही नगरपालिकाहरूले भने यसअघि विद्यालय खोल्न थालेका छन् ।

जिल्ला प्रशासन कार्यालयले अघिल्लो साता नै उपत्यकामा विद्यालय सञ्चालन गर्न सक्ने गरी आदेश जारी गरेको थियो । जनस्वास्थ्य विज्ञहरूले भने अहिले नै विद्यालय खोल्ने बेला नभएको भन्दै दसैं/तिहारपछि मात्र सोबारे निर्णय लिन सुझाव दिँदै आएका छन् ।