१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद अधिवेशन आजबाट शुरु हुँदै, बैठकका लागि ३२ बुँदे कार्यसूची तय

दल विभाजनसम्बन्धी अध्यादेश र एमसीसीबारे तातो बहस हुने

0
Shares

काठमाडौं । संघिय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाको नवौं अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न ४ बजेका लागि अधिवेशन आव्हान गर्नुभएको हो ।

माधव कुमार नेपाल र महन्थ ठाकुरलाई दल विभाजनमा सहयोग हुनेगरि राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन सरकारले यसअघि हतार हतार बजेट अधिवेशन अन्त्य गरेको थियो । दल विभाजनको स्वार्थ पुरा भएकोले अब अमेरिकी सहयोग नियोग एमसीसी सम्झौता अघि बढाउने उद्देश्यले संसदको अधिवेशन डाकिएको अनुमान गरिएको छ ।

आजबाट शुरू हुने अधिवेशनको पहिलो बैठकमा ३२ बुँदे कार्यसूची तय भएको छ । संघीय संसद् सचिवालयले तयार गरेको आजको सम्भावित कार्यसूचीमा राजनीतिक दलसम्बन्धी अध्यादेश पनि रहेको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, शपथसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश लगायत कयौँ अध्यादेश स्वीकृत गरियोस् भन्ने कार्यसूची पनि रहेको छ । अपरान्ह ४ बजे बस्ने अधिवेशनको पहिलो बैठकमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको कार्यशैलीलाई लिएर विरोध जनाउने तयारी गरेको बुझिएको छ ।