१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


५४ जना प्रदेश सांसद एकीकृत समाजवादीमा, स्थानीय जनप्रतिनिधिको सहभागिता ज्यादै न्युन


0
Shares

काठमाडौं । एमाले विभाजित भएर एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन अनुसार नयाँ दल रोज्न प्रदेश र स्थानीय जनप्रतिनिधिलाई मंगलबार साँझ सम्मको समय दिएको थियो । सोहि अनुसार ५४ प्रदेशसभा सदस्यले नयाँ दल रोजेका छन्। सुदूरपश्चिममा प्रदेशसभाकै ठूलो दल एकीकृत समाजवादी बनेको छ भने प्रदेश २ मा एमालेभन्दा नयाँ दल ठूलो बनेको छ ।

गण्डकी प्रदेशसभामा भने एकीकृत समाजवादीको सांसद संख्या शून्य भएको छ । प्रदेश १ मा एमालेका ५१ जना सासंद मध्ये १० जनाले एकीकृत समाजवादी पार्टी रोजेका छन् । यो संगै प्रदेश १ मा बहुमतको आधारमा बनेको प्रदेश सरकारको अल्पमतमा परेको छ । यद्यपि ठूलो दल एमाले नै छ । यस्तै प्रदेश १ का १३ जिल्लाका १ सय ८२ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

यस्तै, प्रदेश २ मा एमालेका २१ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् । यो प्रदेशमा नेकपा एमाले भन्दा एकीकृत समाजवादी ठुलो पार्टी बनेको छ । २ सय २५ जना जनप्रतिनिधिले पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेका छन् । बागमती प्रदेशमा एमालेका ५६ जना सासंसद मध्ये १३ सासंसदले एकीकृत समाजवादी पार्टी रोजेपछि एमालेको सरकार अल्पमतमा परेको छ । त्यस्तै १ सय ८३ जना स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

यता, ५९ सदस्यीय गण्डकी प्रदेशसभामा रहेका २७ एमाले सांसदले मूल पार्टीमै बस्ने निर्णय गरेका छन् । यो संगै गण्डकी प्रदेशमा एकीकृत समाजवादी पार्टीमा प्रदेश सासंसदको संख्या शून्य रहेको छ भने ४० जना मात्रै स्थानीय जन प्रतिनिधिले एकीकृत समाजबादी रोजेका छन् ।
लुम्बिनीमा प्रदेशमा १ मात्र प्रदेश सांसदले नयाँ पार्टीमा सनाखत गराएका छन् । एमालेका ३७ सांसद मध्ये १ जनाले मात्र एकीकृत समाजवादी पार्टी रोजेका हुन् । यस प्रदेशका स्थानीय तहका ५५ जना जनप्रतिनिधिले समाजवादी पार्टी रोजेका छन् ।

कर्णाली प्रदेशमा एकीकृत समाजवादीको केही प्रभाव देखिएको छ । यो प्रदेशका तीन सांसदसहित ३ सय १८ जना स्थानीय जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोजेका छन् । उता, सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ । एमालेका १४ जना प्रदेशसभा सदस्यसहित २ सय २१ स्थानीय जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका छन् । यो संगै माधवकुमार नेतृत्वको नेकपा समाजवादी पार्टीमा ५४ जना प्रदेश सांसद सहित १ हजार २ सय २४ जना स्थानीय जनप्रतिनिधिले सनाखत गरेका छन् ।