१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पशुपतिनाथ मन्दिर आजबाट खुल्ला, दर्शन गर्दा अनिवार्य मास्क लगाएर भौतिक दुरी कायम गर्नुपर्ने


0
Shares

काठमाडौं । आराध्यादेव पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि खुल्ला गरिएको हो ।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायतका मन्दिर पनि भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत वैशाख १० गतेदेखि पशुपतिनाथ मूल मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

अब पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ । एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।

लामो समय बन्द गरिएको पशुपतिनाथ मन्दिरमा हिजो क्षमापूजा गरिएको थियो । यसअघि विसं २०७६ चैत महिनामा नेपालमा पहिलोपटक कोरोना महामारी प्रवेश गर्दा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।