
काठमाडौं । अमेरिका र चीनका राष्ट्रपतिबीच सात महिनापछि पहिलो पटक टेलिफोन वार्ता भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशित गरेको विज्ञप्तिअनुसार दुई नेताले दुई पक्षको हितका विषयमा छलफल गरेका हुन् । बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेपछि चिनियाँ समकक्षीसँग भएको यो दोस्रो संवाद हो ।
व्यापार, गुप्तचरी र महामारीका विषयमा मतान्तर भएकाले चीन–अमेरिका सम्बन्धबीच तनाव कायम छ । छलफलमा राष्ट्रपति बाइडनले अमेरिका र चीनबीचको प्रतिस्पर्धालाई जिम्मेदारीपूर्वक व्यवस्थित गर्ने अमेरिकाको जारी प्रयासको भाग भएको बताउनुभएको छ ।
केही महिनाअघि बाइडेन सरकार र चीनबीच भएको उच्चस्तरीय वार्तामा तनाव उत्पन्न भएको थियो । दुवै पक्षका अधिकारीहरूले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए । चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए ।
अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको बताएको थियो । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा चर्को विवाद छ । अमेरिकाले चीनबाट शिन्जियाङ प्रान्तमा उइगर मुस्लिम समुदायको नरसंहार गरेको आरोप लगाउँदै आएको छ ।
यस्तै नयाँ सुरक्षा कानुन ल्याएर बेइजिङले हङ्कङमा प्रजातान्त्रिक अधिकारलाई दमन गर्न खोजेको अमेरिकाको भनाइ छ । चीनले अमेरिकालाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न बारम्बार चेतावनी दिएको छ ।
वाशिङ्टनले चीनको सत्तारूढ कम्युनिस्ट पार्टीलाई दुर्नाम गर्न खोजेको बेइजिङको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्