२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


मुक्तिनाथ तत्काल नखुल्ने


0
Shares

काठमाडौं । मुक्तिनाथ मन्दिर तत्काल नखुल्ने भएको छ । कोरोनाको दोस्रो लहरसँगै गत वैशाखदेखि बन्द भएकाे मन्दिर अझै नखुल्ने भएकाे हाे । कोरोनाको पहिलो लहरका बेला मुक्तिनाथ मन्दिर खुल्ला गर्दा सरोकारवालाबीच भएकाे लिखित प्रतिबद्धता पूरा नभएको भन्दै स्थानीयले तत्कालका लागि मुक्तिनाथ मन्दिर खुल्ला गर्न नदिने बताएका छन् ।

दोस्रो लहर अघि २०७७ पुस १५ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको अध्यक्षतामा मुक्तिनाथ विकास समिति, वारागुङ मुक्ति क्षेत्र गाउँपालिका, जनप्रतिनिधि र स्थानीय सरोकारवाला निकाउबीच मुक्तिनाथ खुल्ला गर्न आठ बुँदे सम्झौता भएको थियो । सम्झौता बुँदा ७ अनुसार कोभिडका कारण आकस्मिक अवस्थामा गम्भीर बिरामीलाई जिल्लास्तरबाट निःशुल्क उद्धारको व्यवस्था सुनिश्चित हुनुपर्ने थियाे । त्यस्तै बुँदा ९ मा क्रिटिकल बिरामीको उपचारका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मुक्तिनाथ विकास समितिले उपलब्ध गराउने निर्णय भएकाे थियो ।

कोरोना ‘हट स्पट’ बनेको वारागुङ मुक्ति क्षेत्र मुक्तिनाथ रानीपौवामा कोरोनाका कारण सात जनाले ज्यान गुमाएका छन् । मुक्तिनाथ विकास समिति, स्थानीय तह र सरोकारवाला निकायबीच गरिएको प्रतिबद्धता जिल्ला स्तरबाट कुनै पहल नभएको र कोरोना पीडित परिवारलाई लिखित सम्झौताअनुसार मुक्तिनाथ विकास समितिको कोषबाट उचित क्षतिपूर्ति उपलब्ध गराइनुपर्ने माग गरिएको छ । माग पुरा भएमात्र मन्दिर खुलाइने उनीहरुले बताएका छन् ।