३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


एमालेको विधान महाधिवेशनमा को–को तीन हजार सहभागी हुन पाउने ?


0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विधानको महाधिवेशन असोजको १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टीको स्थायी कमिटी बैठकले विधानको महाधिवेशन असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो ।

विधानको महाधिवेशनको लागि पार्टीले स्थायी कमिटीको बैठक असोजको ३ र ४ गतेका लागि डाकेको छ । उक्त बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरू स्थायी समितिको बैठकमा प्रस्तुत हुने र त्यसमाथि व्यापक छलफल गरेर मात्रै अघि बढ्ने पार्टीका सचिव योगेश भट्टराईले बताउनुभयो । उहाँले छलफलबाट आएका सुझावहरूलाई राखेर केन्द्रीय कमिटीको बैठक असोजको ८ र ९ गतेका लागि बोलाइएको पनि जानकारी दिनुभयो ।

विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरू विधान महाधिवेशनका सदस्यहरू हुने ऐन रहे पनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रीय कमिटी र त्यसका सदस्यहरू, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रीय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरूले भाग लिन पाउनेछन् ।

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उप–प्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरूले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताउनुभयो । यो सहित करिव ३ हजार प्रतिनिधिहरूले भाग लिने उहाँले बताउनुभयो ।