२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्वार्थ बाझिएका मुद्दामा संवैधनिक इजलासमा प्रधानन्यायाधीश बस्ने वा नबस्ने भन्ने बारेमा निर्णय गर्न बैठक बस्दै


0
Shares

काठमाडौं । सर्वोच्च अदालतको बेञ्च–बार समन्वय समितिको बैठक बस्दै छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज दिउँसो २ बजेका लागि समन्वय समितिको बैठक बोलाउनुभएको हो ।

आफ्नो स्वार्थ बाझिएको मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाइ चल्दा प्रधानन्यायाधीश इजलासमा बस्न मिल्ने कि नमिल्ने भन्ने विषयमा देखिएको विवादको निकासका लागि प्रधानन्यायाधीश राणाले बैठक बोलाउनुभएको हो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेश अनुसार गरिएको नियुक्तिविरुद्ध परेका रिटमाथि हुने पहिलो र अन्तिम सुनुवाइका दिन प्रधानन्यायाधीश राणाले आफू अलग हुने निर्णय लिनुभएको थियो ।

तर, सर्वोच्चकै न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश बिना संवैधानिक इजलास गठन नहुने भन्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्धका मुद्दाको सुनुवाइ रोक्ने अन्तरिम आदेश जारी गरेपछि संवैधानिक इजलास गठनको विवाद झन् बढेको हो ।

समितिमा सर्वोच्च अदाल बार एशोसियशनका अध्यक्ष, नेपाल बार एशोसिएशनका अध्यक्ष, पूर्व अध्यक्षसहित ५ जनाले सहभागिता जनाउने भएका छन् । सर्वोच्च अदालतबाट पनि ५ जनाको सहभागिता हुने भएको छ ।