
ताप्लेजुङ । ओलाङ्चुङगोलामा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) को कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मौवाटारमा बीओपीको कार्यालयसहितका संरचना तयार हुन लागेको हो ।
फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा बीओपी गत वर्ष स्थापना गरिएको थियो । गत जेठमा ९८ लाखमा सम्झौता गरी सरंचना निर्माण गर्दै आएको निर्माण कम्पनीले जनाएको छ ।
भवन निर्माण अन्तिम चरणमा पुगेको कम्पनी प्रमुख इन्द्र केदेमले जानकारी दिनुभयो । बीओपी स्थापना गरिएको ठाउँ मौवाटार चार हजार २ सय मिटरको उचाइमा रहेको छ ।
संरचना बनिनसकेकाले बीओपीका लागि खटिएको सशस्त्र प्रहरी टोली ओलाङ्चुङगोलामा बस्दै आएका छन् ।
दुई देशको सीमा क्षेत्रमा स्थापना गरिएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ५० जना जनशक्ति रहने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्