१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चाडपर्व लक्षित विशेष सुरक्षा योजना ल्याउँदै प्रहरी

स्वास्थ्य सुरक्षा पनि प्राथमिकतामा

0
Shares

दीपक श्रेष्ठ
काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको छ ।

चाडपर्वमा बढी आपराधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले यस्तो तयारी थालेको हो । अन्य समयमा भन्दा चाडपर्वमा बढी आपराधिक गतिविधि हुने गरेको प्रहरीको ठम्याइ छ ।

चाडपर्व लक्षित सुरक्षा सतर्कता विगतमा पनि हुने गरेकाले यस पटक पनि सादा पोशाक, युनिफर्म र ट्राफिक प्रहरी गरी झण्डै ५ हजार प्रहरी परिचालन गरी काठमाडौंमा चाडपर्व लक्षित सुरक्षा प्रवन्ध मिलाउन खोजिएको छ ।

मानिसको भीडभाड बढी हुने मुख्यबजार, बसपार्क र आर्थिक कारोबार हुने बैंकमा विशेष सुरक्षा प्रवन्ध मिलाइने महानगरीय प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक अशोक सिंह बताउनुहुन्छ ।

चाडवाडमा यो पटक कोरोना संक्रमण थप नफैलियोस् भनेर स्वास्थ्य सुरक्षा मापदण्ड पालनालाई समेत सुरक्षासँग जोडेर हेरिने प्रमुख सिंहको भनाइ छ । कोभिड–१९ को मापदण्ड पालना नभएको खण्डमा अध्यादेशअनुसार कानुनी कारबाही अघि बढाइने उहाँको चेतावनी छ ।

हरेक वर्ष चाडवाड केन्द्रित सुरक्षा रणनीति बनाइन्छ । चाडबाडमै कैयौं आपराधिक घटना हुने गरेको छ । योजना बनाउनु ठुलो कुरा होइन, कार्यान्वयन गरी शान्ति सुव्यवस्था मिलाउनुलाई प्रहरीले आफ्नो प्राथमिकतामा राख्नु उचित हुने देखिन्छ ।