२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुखलाई पदच्यूत गराउने एमालेको रणनीति, महाअभियोग लगाउन के–काे डर ?


0
Shares

खिलनाथ ताजपुरिया
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) अब सभामुख अग्निप्रसाद सापकोटालाई पदच्यूत गर्ने खेलमा लागेको छ ।

सभामुखले एमालेको कारबाहीमा परेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना टाँस नगरे सापकोटालाई राजीनामा दिन बाध्य बनाउने रणनीतिमा एमाले देखिन्छ ।

विधायिकाकै प्रमुख सभामुख एमालेको तारो बनेपछि भदौ २३ यता लगातार संसद बैठक अवरुद्ध हुँदै आएका छन् । सभामुख सापकोटा र एमालेबीच समन्वय नभएसम्म यो क्रम जारी रहने देखिएको छ ।

तर, सभामुख र प्रमुख विपक्षीबीच मिलन विन्दु अझै भेटिएको छैन । बरु एकले अर्कोलाई संसदीय मर्यादा पालना नगरेको भन्दै झनै द्वन्द्व बढाउने खेलमा लागेको देखिन्छ ।

सभामुखले संविधान र संसदीय कानुन बमोजिम विपक्षी एमालेले मर्यादा पालना नगरेको बताइरहनुभएको छ । एमाले यो भनाइ पचाउन सकिरहेको छैन ।

बरु मर्यादापालकलाई छिचोल्दै एमाले सांसदहरू कुस्ती खेल्ने मुडमा देखिन्छन् । यो सबै सभामुखलाई सच्याउने रणनीति भएको एमालेको तर्क छ ।

एमाले प्रमुख सचेतक विशाल भट्टराई सापकोटा सच्चिनै पर्ने वा पदत्याग गरेर मार्ग प्रसस्त गर्नुपर्ने बताउनुहुन्छ । सापकोटा नसच्चिएसम्म संसद अवरोध नहटने उहाँको भनाइ छ ।

देशीविदेशी शक्तिको प्रयोग एमाले विभाजन गर्दा पनि आफूहरुलाई धेरै असर नपरेको उहाँको भनाइ छ । विभाजनले भएको क्षतिलाई एमालेले परिपूर्ति गर्ने उहाँको विश्वास छ ।

संसद अवरोध गरेर सभामुखसँग रिस पोख्नु एउटा कुरा हो । सभामुखको राजीनामा माग्नु एउटा राजनीतिक विषय हो । तर, एमाले सभामुख सापकोटाविरुद्ध अविश्वास प्रस्ताव ल्याउने वैधानिक बाटोमा किन गइरहेको छैन त ? जवाफमा भट्टराई आफूहरू त्यसबाटाेतर्फ पनि केन्द्रीत भएकाे बताउनुहुन्छ ।

‘अदालतका न्यायाधीशहरू, सभामुख, निर्वाचन आयोगले सेटिङमा बसेर अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारिरहनुभएको छ,’ उहाँ भन्नुहुन्छ, ‘कुनै पनि दिन हामी त्यो बाटोमा पनि जान सक्छौं ।’

एमाले एकोहोरो संसद अवरोध गरिरहने अनि सभामुख सापकोटाले संसदको कार्यसूची अगाडि बढाइरहने हो भने संसदीय मर्यादा कायम हुन सक्दैन । अतः सभामुख सापकोटा र एमालेबीच युद्धविराम गरी मध्यविन्दु पहिल्याउँदै गतिरोध अन्त्य गर्नु नै बुद्धिमानी ठहरिनेछ ।