
काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोट प्रतियोगितामा सहभागि हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आज विदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली टोलीलाई विदाइ गरेको हो । टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ ।
उज्वेकिस्तान जानुअघि नेपालले त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो । सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुःखद नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन् ।
छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिमको घोषणा गर्दा डिफेन्डर पुनम जर्घा मगर भने उज्वेकिस्तानको भ्रमण गुमाउने छन् । मुटुको समस्या देखिएपछि पुनम टोली भन्दा बाहिर रहेकी हुन ।
मैत्रीपूर्ण खेलले महिला टोलीलाई आपसमा बुझ्नलाई सहयोग मिलेको छनोट खेल नेपालका लागि ठूलो मौका भएका भएको फिलिप्सले बताए । कुनै पनि खेलाडीमा चोट नभएकाले प्रदर्शन राम्रो गर्ने अपेक्षा फिलिप्सले थपे ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने छनोटमा नेपालसँगै हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
यस्तै नेपालको दोस्रो खेल असोज ५ गते हङकङसँग हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्ने मौका पाउनेछ । एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।
प्रतिक्रिया दिनुहोस्