काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर संदन अवरोध गरिरहेको छ ।
संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो डाकेको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेको थियो । त्यसैले आज पनि संसदमा एमालेले अवरोध गर्ने संभावना छ ।
आफुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस गर्नुपर्ने माग एमालेले राख्दै आएको छ ।
एमाले विभाजन गर्न सभामुखले भूमिका खेलेको आरोप एमालेकै सांसदहरूले लगाएका छन् । एमाले विभाजन भई माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) गठन भइसकेको छ ।
यसअघिका बैठकमा अवरोधकै बीच सरकारले विभिन्न विधेयक पेस गरेको थियो । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेटसम्बन्धी विनियोजन विधेयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव राख्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्