१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्र बैंकको तथ्याङ्कले देखेन वास्तविक बजार, घटेको हैन बढेको छ मूल्यवृद्धि

२ सय ३१ प्रतिशतसम्म मूल्यवृद्धि हुँदा पनि सरकारी निकाय मौन

0
Shares

नारायणी लामिछाने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/०७८ मा औसत मुद्रास्फ्रिति ३ दशमलव ६० प्रतिशत मात्रै रहेको बताएको थियो । जुन अघिल्लो वर्षको तुलनामा धेरै कम हो ।

गत वर्ष ६ दशमलव १५ प्रतिशत मुद्रास्फ्रिति रहेको थियो । तर, बजारमा भएको मूल्य वृद्धिले भने मुद्रास्फ्रितिको आकार झनै बढेको देखाउँछ । यसरी राष्ट्र बैंकको तथ्याङ्क र वास्तविकता भने मेल खाँदैन ।

कालीमाटी तरकारी तथा फलफूल विकास समितिले चाडवाड लाग्दा मूल्य बढ्ने बताउँदै आएको छ । गत वर्षहरूको तुलनामा यस वर्ष खाद्यान्न, तेल, हरियो साग र तरकारीमा अत्याधिक मूल्य वृद्धि भएको छ । खुद्रा व्यापार संघका अनुसार २ सातायता चामल, दाल, सोयाबिन लगायत खाद्यान्नको मूल्य वृद्धि भएको छ ।

२ साता अघिसम्म १ सय १५ रुपैयाँ प्रतिकिलो रहेको मुुसुरोको दाल अहिले प्रतिकिलो १ सय ६० रुपैयाँ पुगेको छ । यस अवधिमा तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ भन्दा पनि बढेको छ । यस्तै कालिमाटी तरकारी बजारमै पनि हरियो साग र तरकारीको मूल्य बढेको छ ।

२०७६ सालमा प्रतिकेजी ५५ रुपैयाँ रहेको हरियो धनियाँ ७८ सालमा १ सय ८२ रुपैयाँ प्रतिकेजी अर्थात २ सय ३१ प्रतिशत मूल्य वृद्धि भएको छ । यस्तै २०७६ सालमा ५८ रुपैयाँ प्रतिकेजी रहेको पालुङगो साग २०७८ सालमा आइपुग्दा १ सय ३८ प्रतिशले मूल्य वृद्धि भइ १ सय ३८ रुपैयाँ प्रतिकेजी पुगेको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्याङ्क छ ।

यसैगरी ०७६ सालमा ४६ रुपैयाँ प्रतिकेजी रहेको लौकामा ६९ प्रतिशतले वृद्धि हुँदै ७८ रुपैयाँ पुगेको छ । यसै अवधिमा गाँजर, बोडी, सिमी, तोरीको साग, हरियो प्याज, हरियो खुर्सानीलगायतका तरकारीको मूल्य ५० प्रतिशत बढीले वृद्धि भएको छ ।

यस्तै, गत साउन महिनामा भन्दा भदौ महिनामा अधिकांश हरियो तरकारी तथा फलफूलको मूल्य ३० प्रतिशतले वृद्धि भएको छ । बजारमा भइरहेका उपभोक्ता र उत्पादकबीचको खाडल तथा मौसमको कारण मूल्य वृद्धि भएको कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठ बताउनुहुन्छ ।

कालीमाटी तरकारी बजारमा पटक–पटक अनुगमन भए पनि बजार भित्रै मौलाएको बिचौलिया नियन्त्रणमा भने सफल हुन सकेको छैन । उपभोक्ता हकको संरक्षण गर्ने वाणिज्य विभाग भने मूल्य नियन्त्रणका लागि निरन्तर अनुगमन भएको दाबी गर्न छोड्दैन ।

साना पसलमा मात्रै अनुगमन गर्ने र ठूला व्यापारीलाई त्यसै छाड्ने गरेको आरोप खुद्रा व्यापार संघको छ । हरेक वर्ष चाडपर्व लागेसँगै मूल्यवृद्धि हुने गरेको छ भने अनुगमन पनि तीव्र बनाइने गरिन्छ । तर वर्षेनी महँगीको मारमा उपभोक्ता ठगिन भने छाडेका छैनन् ।