
नरेन्द्र मानन्धर
काठमाडौं । विश्व सम्पदामा सूचीकृत स्वयम्भू महाचैत्यको पूर्वी क्षेत्र पुरातात्विक दृष्टिले महत्वपूर्ण छ । जहाँ करिव १५ सय वर्ष पुरानो स्वयम्भू उल्लेख भएको अभिलेखसमेत रहेको छ । तर, अत्यन्त महत्वपूर्ण अभिलेख असुरक्षित अवस्थामा छ ।
स्वयम्भू महाचैत्य, बज्रयानको मूलथलो हो । स्वयम्भू पुराण १४ औं शताब्दीमा लेखेको मानिन्छ । शान्तिकरलाई बज्रयान बुद्धिज्मको प्रारम्भकर्ता मानिन्छ र स्वयम्भू महाचैत्य ५औं शताब्दीमा बनेको भनिन्छ । चैत्यको पूर्वी क्षेत्र पुरातात्विक र ऐतिहासिक हिसावले महत्वपूर्ण रहेको छ ।
लिच्छवीकालिन चैत्य र बौद्ध मूर्तिहरू यत्रतत्र छरिएका छन् । जसमध्ये करिव पन्ध्र सय वर्ष पुरानो अभिलेख पनि एक हो । स्वयम्भू शब्द उल्लेख भएको यो अभिलेख पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छ । लिच्छवी संवत् ४ सय ३८ प्रष्ट उल्लेख भएको यो ‘स्वयम्भूव’ शब्द उल्लेख भएको सबैभन्दा पुरानो अभिलेख रहेकोे पुरातत्वविदहरूको ठहर छ ।
यस्तो, अत्यन्तै दुर्लभ अभिलेख हाल असुरक्षित अवस्थामा छ । अभिलेख शौचालय जाने ठाउँमा घाम पानीले रुझेको अवस्थामा छ । यस सम्बन्धमा त्यस क्षेत्रका वडा अध्यक्ष ईश्वरमान डंगोलसँग जिज्ञासा राख्दा अभिलेख सुरक्षित गर्ने नसकेको स्वीकार्नुहुन्छ ।
यहाँ पुरातात्विक महत्वका धेरै लिच्छवीकालिन बौद्ध चैत्य र बौद्ध मूर्तिहरु यत्रतत्र छरिएर रहेको अवस्थामा छन् । यसबारे सरोकारवाला निकायको ध्यान पुगेको छैन । डंगोलले अभिलेख र अन्य सामाग्री चाँडै संरक्षण गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।
रुखविरुवा उम्रेर मूर्ति, चैत्य र अन्य अभिलेखसमेत टुटफुटको अवस्थामा छन् । तसर्थ विदेशी संग्रहालयमा अत्यन्त सुरक्षित साथ रहेको चोरिएका मूर्ति स्वदेश फिर्ता आएकोमा मख्ख नपरी भएको पुरातात्विक संपदाहरूको संरक्षण गर्न पनि ल्याकत राख्नु सक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस्