१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा बाघको आतंक


0
Shares

बाँके । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुने गरेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ आएर झम्टिने डरले त्रसित अवस्थामा रहेका छन् ।

दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेकाले दैनिक काम गर्नसमेत स्थानीय बासिन्दालाई समस्या भएको छ । गत आइतबार महेन्द्रराजमार्ग अन्तर्गत पर्ने गाभर नजिकै सडकमा दुई वटा बाघले आक्रमण गर्दा ४५ वर्षीय एक पुरुषको मृत्यु भएको थियो ।

सोमबार ६ पटकसम्म राजमार्गको वरपर देखापरेका ती दुईवटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको स्थानीयले बताएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले थप कुनै घटना हुन नदिन बाघ देखिएको क्षेत्रमा दुई घरपालुवा हात्ती र ठूलो संख्यामा सेना परिचालन गरिएको जानकारी दिनुभयो ।

प्रमुख संरक्षण अधिकृत साहले स्थानीयलाई बाघको भय र त्रासबाट बचाउन निकुञ्ज लागिरहेको जानकारी दिनुभयो । राजमार्गमा बाघको आङ्तक फैलिएपछि जिल्ला प्रशासन कार्यालयलेले पूर्वपश्चिम राजमार्गमा रात्रिकालीन समयमा साना सवारी सञ्चालनमा रोक लगाएको छ ।