
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टी पहिलो हुने दाबी गर्नुभएको छ ।
बुटवलमा एमाले कार्यकर्ता भेलामा बोल्दै ओलीले केही महिना सरकारबाहिर रहे पनि आगामी चुनावपछि जनताको व्यापक समर्थनसहित सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो । उहाँले अहिले प्रतिपक्षमा बस्नुपर्दा आफूलाई कुनै दुःख नलागेको बताउनुभयो ।
‘प्रतिपक्षमा बस्नुपर्दा हामीलाई कुनै दुःख छैन,’ उहाँले भन्नुभयो, ‘अब १६ महिना हो, त्यसपछि एमाले जनताको व्यापक समर्थनसहित पहिलो पार्टी बन्दै सरकारको नेतृत्व गर्छ ।’
फरक प्रसङ्गमा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालको चर्को आलोचना गर्दै ‘कामरेड’ भन्न नसकिने बताउनुभयो । कांग्रेसको पछिपछि लाग्ने र पार्टीलाई ध्वस्त पार्न लाग्नेलाई कामरेड भन्न नमिल्ने उनको तर्क छ । एमालेको सरकार हुँदा एक शब्द पनि प्रशंसामा खर्च नगरेको स्मरण गर्दै ओलीले नेपाललाई कुण्ठाग्रस्त मान्छेको संज्ञा दिनुभयो ।
ओलीले अन्य पार्टीको अवस्थालाई मूल्याङ्क गर्दा कम्युनिष्टले मात्र देशमा तीव्र विकास गर्नसक्ने दाबी गर्नुभयो । सार्वभौमसत्ता, भूमि जोगाउन, भौगोलिक अखण्डता राख्ने, गर्वका साथ कुनै पनि देशसँग बराबरी हैसियत राख्ने विषयमा कम्युनिष्टले मात्रै गर्न सक्ने उहाँको भनाइ छ ।
कांग्रेसलगायत दलले भारतले नाकाबन्दी लगाउँदासमेत बोल्न नसकेको टिप्पणी गर्दै ओलीले अनुकुल अवस्थामा मात्र कांग्रेस माथि पुग्ने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नाकाबन्द भयो भने लुसुक्क सुत्छ । बोल्न सक्दैन । नाकाबन्दी भन्न सक्दैन । हाम्रो बाटो छेक्न पाउँदैन भन्न सक्दैनन् । अनुकूल अवस्था आयो भने नेपाली कांग्रेस कहाँ पुग्यो देख्नुभएको छ नि !’
यस्तै उहाँले वर्तमान सरकरालई बुख्याँचासँग तुलना गर्दै सरकारले बुख्याँचाजतिको पनि काम नगरेको आरोप लगाउनुभयो । बुख्याँचाले बाली खान आउनेलार्ई तर्साउने गरेको भए पनि वर्तमान सरकारले आफ्नै मन्त्रिपरिषद्समेत विस्तार गर्न नसकेको उहाँको भनाइ छ ।
ओलीले बजेट पारित गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो । सभामुखको पनि आलोचना गर्दै उहाँले सरकार बजेट खर्च गर्न नमिल्ने अवस्थामा पुगिसक्दा असोज ४ गतेसम्म संसद बैठक ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको भन्दै प्रश्न गर्नुभयो ।
‘गुरूरू दगुरेर गएर प्रस्ताव पेश गर्न हुन्छ भने पास गर्न सकिँदैन ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘सरकारसँग एक कप चिया खाने पैसा छैन, बुख्याँचा हो कि सरकार हो ?’ उहाँले थप्नुभयो, ‘ सरकारको बुद्धिमा बिर्को लागेको छ, बजेट खर्च गर्न नमिल्ने भैसक्यो, संसद ४ गतेसम्म स्थगित गरेर के गर्न खोजेको ?’
प्रतिस्थापन विधेयक पारित नभएसँगै बुधबार मध्यरातिदेखि देशमा पहिलोपटक ‘बजेट होलिडे’ भएको छ । यस्तो अवस्थामा सरकारले भुक्तानी दिन मिल्दैन र आफ्नो कोषमा भएको बजेट खर्च गर्न नमिल्ने संवैधानिजक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्