१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चयकोषलाई अर्थमन्त्रीको निर्देशन– ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुहोस्’


0
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न कर्मचारी सञ्चय कोषलाई निर्देशन दिनुभएको छ ।

कोषको ६०औं वार्षिकोत्सव समारोहको ‘भर्चुअल’ उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताको पैसालाई कोषले उत्पादनमूलक क्षेत्रमा लगाउँदै राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउने बताउनुभो ।

कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाइ सञ्चयकर्ताहरूको लागि सहज वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ छ ।

सञ्चय कोषको आर्थिक वर्ष २०७७/०७८ सम्म कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । हाल सञ्चय कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात छ ।

निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ । सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले दुई पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ ।

सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख रुपैयाँ सहयोग प्रदान गर्छ ।