
प्यूठान । प्यूठानको परिचय बोकेको र प्यूठानमा मात्र निर्माण गरिँदै आएको बाघमुखे चुलेसी लोप हुन थालेको हो ।
जिल्ला घुम्न आउने पर्यटक र कर्मचारीको बिदाइमा पहिलो रोजाइमा पर्ने प्रख्यात बाघमुखे चुलेसी कालीगढ अभावका कारण लोप हुने अवस्थामा पुगेको हो ।
युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा चुलेसी संकटमा परेको स्थानीय बताउँछन् । ‘सीप भएका अग्रज बितिहाले,’ एक कालीगढ बताउनुहुन्छ, ‘ठिटाहरू भारत र अन्य देश गए, यहाँ मै मात्र हुँ, मै पनि मरेँ भने सक्यो ।’
चुलेसी निर्माणका लागि मैन, देवलको माटो लगायतका कच्चा पदार्थ आवश्यक पर्दछ । तर, आवश्यक कच्चा पदार्थ भने पाउन छोडेको छ । चुलेसी निर्माण गर्न देवलको माटोबाट बाघको आकार दिएर मैनको सहायतामा पित्तलको चुलेसी निर्माण गरिन्छ ।
चुलेसी बनाउने सीप युवा पुस्ताले सिक्न चासो नदिँदा प्यूठानको पहिचान नै मेटिने अवस्था आएको हो । यस पेशाबाट सोचेजस्तो आम्दानी नहुने र विदेशिने लहडका कारण चुलेसी लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
चुलेसीको प्रवर्द्धनमा स्थानीय सरकारले बेवास्था गर्दा लोप हुन थालेको स्थानीयको आरोप छ । प्यूठानको पहिचान नै लोप भइसक्दा समेत यसको संरक्षण र लगानी गर्न स्थानीय सरकारले उदाशीद देखिएको छ ।
तर, चुलेसी संरक्षणका लागि पालिकाले बजेट र तालिमको व्यवस्था गरेको दाबी गरेको छ । आफूहरूले तालिम र सीप प्रवर्द्धनमा लगानी गरे पनि युवापुस्ताले चासो नदेखाएको मल्लरानी गाउँपालिका–४ का वडाध्यक्ष कुमार श्रेष्ठ बताउनुहुन्छ ।
स्थानीय सरकारले चासोका साथ अघि बढाउँदासमेत युवापुस्ताले चासो नदिएपछि प्यूठानको पहिचान नै मासिने अवस्था सिर्जना भएको छ । पहिचान जोगउनकै लागि भए पनि स्थानीय तहको उचित कदम चाल्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्