२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अमेरिका, अष्ट्रेलिया र बेलायतबीचको ओकस सम्झौताप्रति चीन क्रुद्ध


0
Shares

काठमाडौं । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमतिको चीनले भत्र्सना गरेको छ ।

त्रिदेशीय सम्झौतालाई चीनले अत्यन्तै गैरजिम्मेवार र साँघुरो मानसिकताको उपज भनेको हो । तीन वटा देशबीच गत बुधबार एशिया प्रशान्त क्षेत्रमा आणविक शक्तियुक्त पनडुब्बी सञ्चालन गर्ने तथा सुरक्षा प्रविधि र खुफिया सूचना आदान प्रदान गर्ने सम्झौता भएको थियो ।

उक्त सम्झौतलाई एशिया प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्ने कदमको रुपमा ब्याख्या भईरहेको बेला चीनले पनि सम्झौताको कडा आलोचना गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले त्रिदेशी सम्झौताले त्यस क्षेत्रको शान्ति सुरक्षालाई क्षति पुर्याउने र अस्त्र दौडलाई बढाउने बताएका हुन ।

सम्झौतालाई शीतयुद्दको धङ्धङ्गी भन्दै उनले त्यसले उनीहरुकै हीतमाथि हानी गर्ने तर्क पनि गरेका छन् । चिनियाँ सत्ताको मुखपत्रको रुपमा चिनिने ग्लोबल टाइम्सले पनि सोही आशयको सम्पादकीय लेख्दै अष्ट्रेलिया पनि चीन विरोधी मोर्चामा पुगेको टिप्पणी गरेको छ ।

ओकस नामको उक्त सम्झौता अनुसार अमेरिकाले विगत ५० वर्षको अवधिमा बेलायतलाई मात्रै उपलब्ध गराएको आफ्नौ पनडुब्बी प्रविधि अष्ट्रेलियालाई पनि उपलब्ध गराउने छ । उता, अमेरिकाले ओकस सम्झौतामा फ्रान्सको पनि सहभागिता हुनसक्ने संकेत गरेको छ ।

सम्झौतामा सिंगो युरोपिय युनियनलाई बेवास्ता गरेको भन्दै फ्रान्सले असन्तुष्टि जनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले आफूहरु इण्डो प्यासिफिक सुरक्षा रणनीतिमा युरोपको सक्रिय सहभागिताको पक्षमा रहेको बताएका हुन ।