१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारको पछिल्लो आदेशबाट उपत्यकाको विद्यालय क्षेत्रमा अन्योल, सञ्चालकहरुलाई विद्यालय खोल्ने हतारो


0
Shares

काठमाडौं । सरकारको स्पष्ट नीति नहुँदा उपत्यकाको विद्यालय क्षेत्र अन्योलमा परेको छ । सरकारले एकातिर जिल्ला प्रशासन कार्यालयहरु मार्पm भौतिक उपस्थितिमा विद्यालय नखोल्ने आदेश जारी गराएको छ भने अर्कोतर्फ विद्यालय खोल्नै पर्ने भए स्थानीय तहसंगको अनुमति र समन्वय गर्नसक्ने भनेको छ ।

विद्यालय संचालकहरुले जिल्ला प्रशासन कार्यालयको आदेशलाई आ–आफ्नै सुविधा अनुसार ब्याख्या गरेका छन् । कतिपय विद्यालय आज असोज १ गतेदेखि संचालनमा आईसकेका छन् भने कतिपयले संचालनको तयारी गरिहेका छन् । तर अधिकांश विद्यालय अन्योलमा परेका छन् ।

यसै पनि अबको तीन सातामा दशैं तिहारको बिदा शुरु हुने भएकाले यो बीचको अवधिमा के गर्ने भन्ने अन्योल विद्यालय क्षेत्रमा देखिएको हो । काठमाडौं महानगरपालिकाले विद्यालय सञ्चालन गर्न दिने विषयमा औपचारिक निर्णय गरिसकेको छैन ।

बिहीबार बसेको महानगरपालिकाको बैठकले विद्यालय खोल्नका लागि मापदण्ड तयार पार्न समिति गठन गरेको छ । असोज ४ गते सो समितिले बुझाउने प्रतिवेदनमाथि छलफल गरेर निर्णय लिइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

तर काठमाडौंकै अन्य नगरपालिकाहरुले भने विद्यालय संचालनको अनुमति दिईसकेका छन् । ललितपुर महानगरपालिकाले पनि असोज १ देखि विद्यालय खोल्न अनुमति दिएको छ । विद्यालय सञ्चालकहरुको जोड भने जसरी पनि विद्यालय खोल्ने रहेको छ ।

दशैं अघि नै बक्यौता शुल्क असुल्नका लागि पनि संचालकहरु विद्यालय खोल्न हतारिएको आरोप अभिभावकहरुले लगाएका छन् ।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले यसअघि जारी गरिएको आदेश अनुसारकै निषेधाज्ञा असोज १ पछि पनि कायम रहने निर्णय गरेका छन् ।