७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण


0
Shares

प्रकाश नेपाल

इलाम । कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिकामा पर्यटनका लागि नयाँ गन्तव्यको निर्माण भएको छ । सूर्योदय नगरपालिका– ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएको छ ।

भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट दुई किलोमिटरको दूरीमा रहेको बौद्यधाममा अहिले भारतीय पर्यटक पनि आउने गरेका छन् ।

बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२/०७३ मा भएको थियो । क्रमगत रुपमा सञ्चालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर १ सरकारमा हस्तान्तरण भएको थियो । प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गर्दै आएको नगर प्रमुख रणबहादूर राईले बताउनुभयो ।

बुद्ध पार्क निर्माणमा प्रदेश सरकारको दुई आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च भएको छ । १७ रोपनी क्षेफलमा निर्माण हुँदै गरेको पार्कमा बुद्धको प्रतिमा निर्माण गरी सकिएको र घेराबारा, साधना केन्द्र, सौन्दर्यीकरण गर्ने काम बाँकी रहेको छ । ८ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना रहेको बुद्धपार्कमा प्रदेश १ सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिका गरी ४ करोड रुपैयाँ खर्च भइसकेको छ ।