
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकास र समृद्धिका लागि एमसीसी आवश्यक रहेको बताउनुभएको छ ।
कोशी टप्पुमा प्रकृति संरक्षण कोष मातहतको कोशी टप्पु संरक्षण केन्द्रको कार्यालय उद्घाटन गर्न सुनसरी पुग्नुभएका मन्त्री कार्कीले एमसीसी मुलुकको विकास र समृद्धिका लागि आवश्यक रहेको जिकिर गर्नुभयो ।
उहाँले दलीय खिचातानीले एमसीसी ओझेल पर्ने सम्भावना बढाएको भन्दै जसरी भए पनि संसदबाट पास गराउनुपर्ने बताउनुभयो ।
मन्त्री कार्कीले एमसीसी विकास परियोजना भएकाले यसको विषयमा राजनीति गर्न नहुने उल्लेख गर्नुभयो । एमसीसी संसदबाट पास गराउनको लागि सबैसँग सहमतिको खाँचो रहेको उहाँको भनाइ छ ।
मन्त्री कार्कीले असोज ४ गते बस्ने संसद बैठकले बजेटको विषय अघि बढाउने बताउनुभयो । संसद भित्रको गतिरोध हटाउने विषयमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उहाँले केही दिनभित्रै राजनीतिक निकास निस्कने विश्वास व्यक्त गर्नुभयो ।
कोशी टप्पु वन्यजन्तु आरक्षमा शुक्रबारबाट स्थापना भएको कार्यालयले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै संरक्षण तथा सम्भाव्यता अध्ययनका विषयमा काम गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्