१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा बँदेल मार्न राखिएको करेन्ट लागेर एकै परिवारका तीन जनाको मृत्यु


0
Shares

काठमाडौं/बर्दिया । बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टको पासोमा परेर एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको करेन्टको पासोमा परेर ठाकुरबाबा–३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको बर्दिया प्रहरीले जनाएको छ ।

गएराति १० बजेतिर एक जनालाई करेन्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर मृत्यु भएको हो । पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पासोमा करेन्ट लागेर एक जनाको ज्यान गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह बन्द गरेका वृद्ध आफैंले घरपरिवारमा जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

धानबालीमा जङ्गली हात्ती, बँदेल लगायतका वन्यजन्तुले क्षति पुर्याउन थालेको भन्दै करेन्ट प्रवाह गर्दा यसअघि करेन्ट लागेर दुई वटा हात्ती र एक जना युवाको ज्यान गएको थियो ।