
काठमाडौं । काठमाडौंको फोहोर विसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।
सरकारी निकायहरूले बञ्चरे डाँडामा फोहोर विसर्जनका लागि तयार भइसकेको र फोहोर फाल्न मिल्ने बताएपछि आवश्यक संरचना नै नबनाइ फोहोर फाल्न लागिएको भन्दै स्थानीयहरूले आपत्ति जनाएका हुन् । स्थानीय सनत उप्रेतीले भवन निर्माण विभागले बन्दै नबनेको संरचना बनेको भनेर गलत प्रचार गरिरहेको भन्दै त्यसको प्रतिवादमा स्थानीय एकजुट हुने बताउनुभयो ।
उप्रेतीले सरकार र त्यहाँका स्थानीयबीच स्थानीयलाई रोजगारीको सिर्जना गर्नुपर्ने, ७ सय स्थानीय घरहरूको व्यवस्थापन सरकारले गरिदिनुपर्ने, अधिकार सम्पन्न समिति बनाइनुपर्ने, फोहोरलाई उद्योगमा लैजानुपर्ने, फाेहाेरबाट निस्कने लिचडलाई कोल्पुखोलामा मिसाउन नहुने लगायतका माग पूरा नहोउन्जेल बञ्चरे डाँडामा फोहोर खस्न नदिने बताउनुभयो ।
त्यस्तै अर्का स्थानीय पुष्कर उप्रेतीले सरकारले फोहोरले असर गर्ने ठाउँसम्मको जग्गा अधिग्रहण नगरेको भन्दै आपत्ति जनाउनुभयो । तत्काल यसले असर नगरे पनि पछि गएर स्थानीयलाई धेरै असहज परिस्थिति सिर्जना हुने उहाँको भनाइ छ । स्थानीयसँग सरकारले गरेको कागजी सम्झौैता कार्यान्वयन गर्न माग गर्दै उहाँले लिचडको व्यवस्थापन गर्ने तयारी पूरा नभइ फोहोर ल्याउन लागेकोमा आपत्ति जनाउनुभयो ।
तर, शहरी विकास तथा भवन निर्माण विभागका ल्याण्डफिल्ड साइटका सुपरभाइजर ध्रुवप्रसाद धिमालले फोहोर फाल्नको लागि सेल वान र सेल टू भन्ने दुई स्थान रहेको भन्दै सेल वान तयार भएको बताउनुभयो । सेल वान फोहोर खसाल्न तयार भइसकेको र नगरपालिकालाई यसबारे जानकारी दिइसकेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी विश्व सरसफाइ अभियन्ता राजमान मानवले फोहोरको कारण नेपालको छविमा अन्तर्राष्ट्रिय स्तरमै दाग लागेको बताउनुभयो । उहाँले सुन्दर उपत्यकालाई व्यवहार, सोच र राज्यको गैरजिम्मेवारीले काठमाडौं फोहोर भइरहेको बताउनुभयो ।
सरकारले काठमाडौंको फाहोर व्यवस्थापनका लागि अहिलेसम्म नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइटमा बिसर्जन गरिरहे पनि त्यहाँ राख्ने स्थान नहुँदा अर्को स्थानका रुपमा बञ्चरे डाँडालाई विसर्जनको गन्तव्य बनाएको छ । तर, आवश्यक संरचना नै निर्माण नगरी सरकारी पक्षले फोहोर फाल्न लागेको भन्दै स्थानीयहरूले त्यसको विरोध गरिरहेका छन् ।
स्थानीयहरू आफ्ना पाँच बुँदे माग लागू भएमात्र बञ्चरे डाँडामा फोहोर फाल्न दिने बताइरहेको छ । अन्यथा सरकारको प्रतिवाद गर्न पछि नहट्ने उनीहरूको चेतावनी छ । फोहोर फाल्न सक्नेगरी र स्थानीयलाई कुनै पनि समस्या सिर्जना नहुने गरी आवश्यक संरचना बनाइसकेपछि मात्रै फोहोर विसर्जन गर्न दिइने माग स्थानीयको छ ।
प्रतिक्रिया दिनुहोस्