
काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा समावेशी सरकार बनाउन वार्ता सुरु गरेको जनाएको छ । प्रधानमन्त्री इमरान खानले ट्वीटरमार्फत समावेशी सरकार बनाउन तालिवानसँग वार्ता सुरु गरेको जानकारी दिनुभयो ।
खानले अफगानिस्तानका छिमेकी देशका नेताहरू र विशेष गरेर ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोनसँग छलफल गरेको जानकारी दिनुभयो । अफगानिस्तानका जातीय समूह तजिक, हजारा र उज्बेकहरूलाई सहभागी गराएर सरकार गठनको प्रयास भइरहेको प्रधानमन्त्री खानले बताउनुभयो । यो कदमले अफगानिस्तानको ४० वर्षे संघर्षलाई पूर्णविराम दिँदै शान्ति र स्थिरता ल्याउने उहाँको विश्वास छ ।
पाकिस्तानी प्रधानमन्त्री खानले शुक्रबार ताजिकिस्तानमा शंघाइ सहयोग संगठनको बैठकमा अफÞगÞानिस्तानको अस्थिरता अन्य देशहरूका लागि हैरानी बन्न सक्ने बताउनुभएको थियो । उहाँले अफगानिस्तानलाई एक्लै छोड्दा गृहयुद्धको स्थिति पैदा हुनसक्ने भन्दै यसले शरणार्थीको संख्या र अन्तराष्ट्रिय संगठित अपराधलाई बढावा दिन सक्ने चेतावनी दिनुभएको थियो ।
यसैबीच अफगानिस्तानमा शनिबारदेखि छात्रहरूका लागि विद्यालय खुला भएको छ । तालिबान सत्ताको शिक्षा मन्त्रालयले वक्तव्य जारी गरेर छात्रहरूका लागि विद्यालय खुलेको जनाए पनि छात्राहरूका सम्बन्धमा भने केही उल्लेख गरेको छैन । छात्राहरु कहिलेदेखि विद्यालय जान सक्ने छन् भन्ने पनि खुलाइएको छैन ।
केही विद्यालयहरूमा ६ कक्षासम्म बालिकाले पनि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । तालिबानले यसअघि आफूहरू २० वर्ष पहिले सत्तामा रहँदा जस्तो नभइ परिवर्तन भएको बताएको थियो । शुक्रबारमात्रै तालिबानले महिला मन्त्रालय खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्