
काठमाडौं । हेलम्बुका अध्यक्ष निमाग्याल्जेन शेर्पाले कांग्रेसको आउँदो १४ महाधिवेशनमा सिन्धुपाल्चोकको जिल्ला सभापतिको लागि तयारी गर्नुभएको छ ।
देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बन्नुभएको शेर्पा जिल्ला सभापतिको तयारीमा लाग्नुभएको हो ।
उहाँले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर कांग्रेसको संगठननै धरापमा परेकोले आफ्नो उम्मेदवारी गुटरहित कांग्रेस बनाउन रहेको बताउनुभयो ।
‘पार्टीमा योगदानभन्दा बढी ज्यादा महत्वकाक्षा राख्ने बढी भयो’ शेर्पाले भन्नुभयो, ‘वैचारिक रूपमा सबल र सांगठनिक हिसाबले चुस्त पार्टी बनाउने अभियान अन्तर्गत मैले साथीहरुको सल्लाह तथा सुझावका आधारमा सभापति पदमा उम्मेदवारी दिने सोचाइ बनाएको छु ।’
समयले हामीलाई झगड़ा तथा गुटबंधी गरेर बस्ने छूट नदिएको बताउँदै शेर्पाले सिन्धुले पछिल्ला वर्षहरुमा बेहोरेको विपत्तिहरुले पार्टीको संगठन सँगै जिल्ला निर्माणमा योगदाने दिने बेला यही भएकाले गुट रहित सिन्धु कांग्रेस आफ्नो अभियान भएको बताउनुभयो ।
‘हामिले पार्टी संगठन निर्माण सगै ढलेको हाम्रो जिल्लालाई जुरुक्क उठाऊँनु छ’, शेर्पाले भन्नुभयो ।
जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापति द्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्व सचिव कृष्ण प्रसाद नयौपाने, पूर्व सभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामा सभापतिको आंकाक्षी देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्