
काठमाडौं । नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध दायर गरेको मुद्दाको आज सुनुवाइ हुँदैछ ।
एमालेले आफ्नो नेतृत्वको सरकारविरुद्ध मतदान गरेको भन्दै माधवकुमार नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको थियो ।
तर सभामुख सापकोटाले आफूहरुले गरेको कारवाहीको सिफारिस कार्यान्वयन नगरेको भन्दै एमाले अदालत गएको थियो । न्यायाधीशहरू दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा उक्त मुद्दाउपर सुनुवाइ हुँदैछ ।
एमालेले साउन २५ को केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र भदौ १ गते संसद सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो ।
निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिइसकेपछि मात्र संसद सचिवालयले नयाँ दल दर्ता भइसकेकाले कारवाही गर्नु नपर्ने जनाएको थियो ।
कानूनबमोजिम पार्टीले प्रक्रिया पूरा गरेर निष्कासन गरेका सांसदहरुलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस्नुपर्ने भन्दै एमालेले उनीहरुलाई सांसदको रुपमा संसदमा प्रवेश दिएको विरोधमा सदन अवरोध गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्