७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


चितवनका ईटा उद्योग बन्द हुँदै


0
Shares

चितवन । चितवनका ईटा व्यवसायीले जग्गा बेचेर ऋण तिर्न थालेका छन् । मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण संकटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका हुन् ।

जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक रुपमा सञ्चालन भएका थिए । रत्ननगर, राप्ती र खैरहनी नगरपालिकामा उद्योग छन् ।

चितवन इँटा उद्योग संघका अध्यक्ष नारायण सापकोटाले यस वर्ष चार पाँचवटा उद्योगमात्र सञ्चालनमा आउन सक्ने बताउनुभयो । बाँकी उद्योग सधैंका लागि बन्द हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

महामारीका कारण एउटा उद्योगले दुई करोड रुपैयाँसम्म नोक्सान बेहोर्नुपरेको उहाँको भनाइ छ । कतिपय उद्योगले जग्गा बेचेर ऋण तिर्नुपर्ने अवस्था आएको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष कोइलाको मूल्यमा झण्डै दोब्बर वृद्धि भएको छ । सरकारले कोभिडबाट पूर्णरुपमा प्रभावित भएका इँटा उद्योगलाई ऋणको ब्याजमा अनुदान नदिएकाले सबै उद्योग संकटमा परेको उहाँको भनाई छ ।

यहाँको ईटा मकवानपुर, नवलपुर, गोर्खा, तनहुँ, पोखरा, काठमाडौँसम्म बिक्री हुने गर्दछ । नेपालमा एक हजार ३ सय इँटा उद्योग रहेका र तीमध्ये ४० प्रतिशत बन्द हुने अवस्थामा रहेको बताइएको छ ।