
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । त्रिकोणात्मक सिरिज अन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा जित निकाल्दा दुई खेल गुमाउन पुग्यो ।
भ्रमणमा नयाँ अनुहारले स्थान बनाउँदा प्रदर्शन पनि सुधारिएको देखियो । कप्तान ज्ञानेन्द्र मल्ल सहित आसिफ शेख, कुशल भुर्तेल जस्ता युवा खेलाडीले सम्झन लायक प्रदर्शन गरे ।
ओडिआई क्रिकेटमा नेपालले ओमानलाई पहिलो पटक पराजित पनि गर्यो । कप्तान ज्ञानेन्द्रले आफ्नो एक दिवसीय करियरको चौथो अर्धशतक पनि पूरा गरे । उनी चार अर्धशतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान भए ।
युवा खेलाडीको प्रदर्शनबाट पुस्ता हस्तान्तरण हुन लागेको हो भन्ने प्रश्नमा कप्तान ज्ञानेन्द्र मल्लले खुसी भएको प्रतिक्रिया दिए । पाएको सफलतालाई निरन्तरता दिनका लागि गृहकार्य जरुरी रहेको मल्लले बताए ।
उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए ।
ह्वाटमोरले नेपाली क्रिकेटको भविष्य राम्रो रहेको तर, नेपाल क्रिकेट संघले खेलाडीलाई धेरै भन्दा धेरै खेलहरू आयोजना गरेर अनुभव दिनुपर्ने सुझाव दिए । भएको क्षमता भन्दा माथि उठन्का लागि नेपालले बलियो टिमसँग खेल्न आवश्यक रहेको औंल्याए ।
ओमान भ्रमणको क्रममा नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो भने ओमानसँग पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । अमेरिकासँग दोस्रो खेलमा भने नेपाल ६ विकेटले पराजित हुन पुगेको थियो ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको आठौं खेलमा सुखद जित निकालेको नेपाल तालिकाको चौथो स्थानमा उक्लिएको छ । ८ खेलबाट ८ अंक नै जोडेको नेपाल भन्दा माथि शीर्ष स्थानमा १३ खेलबाट २० अंक जोडेको ओमान रहेको छ ।
दोस्रो स्थानमा १५ खेल खेलेर १४ अंक जोडेको अमेरिकाका छ भने तेस्रो स्थानमा ८ खेलबाट ९ अंक बनाएको स्कटल्यान्ड अटाएको छ । नामिबिया, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युगिनी (पिएनजी) क्रमश पाँचौ, छैठौं र सातौ स्थानमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्