१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावले आन्दोलित हुनुपर्‍याे– भट्टराई

‘१४ सांसदलाई कारबाही गरेको सूचना टाँस्ने वा मार्ग पशस्त गर्ने सभामुखसँग दुईवटा मात्र विकल्प छ’

0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले सभामुखको कार्यशैली र एमालेप्रतिको भेदभावको कारण आन्दोलित हुनुपरेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा प्रमुख सचेतक भट्टराईले सभामुखले न्याय नगरेसम्म संसदको अवरोध जारी रहने बताउनुभयो । संसदमा सत्ता पक्ष र सभामुखले निकास दिनुपर्ने उहाँको भनाइ । बजेटबारे प्रमुख प्रतिपक्षीसँग सामान्य संवाद पनि नगरी जर्बजस्ती रूपमा ल्याइएको उहाँले बताउनुभयो ।

‘संसदमा प्रस्तुत भएका एजेण्डाहरु प्रति भन्दा पनि हाम्रो सभामुखको कार्यशैली र सभामुखले नेकपा(एमाले)प्रति गरेको विभेदको कारणले गर्दा हामी अहिले संसदमा आन्दोलनमा छौं,’ उहाँले भन्नुभयो, ‘उहाँले त्यो प्रवृत्ति नसच्याएसम्म, त्यो घटनामा नेकपा(एमाले)लाई गरेको अन्यायमा उहाँले जबसम्म न्याय गर्नुहुन्न तबसम्म हाम्रो यो आन्दोलन जारी नै रहन्छ ।’

भट्टराईले सभामुखसँग १४ सांसदलाई कारबाही गरेको सूचना टाँस्ने वा मार्ग पशस्त गर्ने दुईवटा मात्र विकल्प रहेको बताउनुभयो । गरिमामय आशनमा बसेको मान्छेले सांकेतिक रुपमा गरेको विरोधको अर्थ पनि बुझ्नुपर्ने बताउँदै उहाँले अहिलेको अवरोधको निकास सभामुख र सत्तापक्षले दिनुपर्ने तर्क गर्नुभयो ।