
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिपक्षी दलसँग वार्ता र संवादगरी राष्ट्रिय एकता कायम गर्ने सरकारको नीति रहेको बताउनुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा निरन्तर विरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)सँग वार्ता र संवाद गरिरहेको बताउनुभयो ।
मन्त्री शर्माले प्रमुख प्रतिपक्षीलाई पनि वार्ता र संवादमार्फत् मिलाएर राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । जसका लागि सभामुख र प्रधानमन्त्रीले पहल गरिरहनुभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – ‘प्रतिपक्षसँग पूरै सौहार्दपूर्ण वातावरण बनाउने हो । निरन्तर वार्ता गर्ने हो । सर्वदलीय बैठक भएको थियो । कानून मन्त्रीले निरन्तर वार्ता पनि गरिरहनुभएको छ । हामी वार्ता, संवादलाई निरन्तरता दिइरहेका छौं । बजेट लामो समयसम्म रोकिराख्यो भने सबै कुरा ठप्प हुने भएकाले सँग–सँगै लैजानुपर्ने बाध्यता छ ।’
उहाँले थप्नुभयो, ‘प्रतिपक्षलाई हामी मिलाएर वार्ता, संवादबाट राष्ट्रिय एकता कायम गरेर जाने सरकारको नीति छ । वार्ता गर्ने हो, संवाद गर्ने हो, सर्वदलीय बैठक राख्ने हो, सभामुखले पहल गर्नुभाको छ । नेताहरुले पहल गर्नुभाको छ । प्रधानमन्त्रीले पहल गर्नुभाको छ ।’
मन्त्री शर्माले अघिल्लो सरकारले ल्याएका कुनै पनि योजना नकाटेको र नरोकेको बताउनुभयो । आफूहरू पूर्वाग्रही नभएको स्पस्ट पार्दै उहाँले सबै योजना देखेपछि एमालेले सरकार पूर्वाग्रही नभएको बताउने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्