
काठमाडौं । काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको पूर्ण साक्षर बनाउन लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताउनुभयो । श्रोत र साधन पर्याप्त भए पनि यसलाई व्यवस्थापन गर्न नसकेको उहाँले बताउनुभयो । निर्देशक लुइँटेलले शिक्षाको कार्यक्रममा र कार्यान्वयनमा जटिल समस्या रहेको उल्लेख गर्नुभयो ।
‘शिक्षामा स्रोत र साधन भए पनि व्यवस्थापकीय चुनौति छ, शिक्षाको कार्यक्रम कार्यान्वयनमा जटिल समस्या छ,’ निर्देशक लुइँटेलले भन्नुभयो, ‘अहिलेको शिक्षाको अवस्था भनेको बन्दै गरेको बसेको जस्तो हो, इन्जिन बनाइएको छैन, झ्यालहरू बनाउन थालिएको छ, त्यो पनि इन्जिन मुग्लिनमा जोड्ने गरी, त्यहाँसम्म पुग्छ कि पुग्दैन थाहा छैन ।’
त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गर्नुभयो । उहाँले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्न अनुरोध गर्नुभयो ।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप सोमबार काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्