२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


कांग्रेस महाधिवेशन के हुन्छ ? (भिडियो)


1.729k
Shares

रोमन आचार्य, दिलिप पोखरेल र सानु माली (इमेज)

काठमाडौं, असार ३ । कार्यतालिकाअनुसार गतिविधि नगर्दा नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यसूची फेरि प्रभावित हुने आशंका बढेको छ ।

चरम आन्तरिक शक्ति संघर्षपछि मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको महाधिवेशनको साइत २०७७ फागुन ७ गते जुरेको थियो ।

नेपाली कांग्रेसको विधान हुबहु पालना भएको हुन्थ्यो भने पार्टीको १४औं महाधिवेशन सम्पन्न भइ नयाँ नेतृत्वले पार्टीको कमान्ड सम्हालेको अहिले पाँचौं महिना हुने थियो ।

२०७२ फागुनमा भएको १३औं महाधिवेशनबाट चारवर्षे कार्यकालका लागि सभापति निर्वाचित शेरबहादुर देउवाले विधानमा रहेको एक वर्ष कार्यकाल थप्न पाउने छिद्र प्रयोग गर्दै २०७७ फागुनमा महाधिवेशन गर्ने चाँजोपाँजो मिलाएका छन् ।

पार्टीभित्र इतर पक्षको चर्को दबाबबीच चार-चारपटक म्याद सार्दै फागुन ७ गते महाधिवशेन उद्घाटनको साइत जुराइएको हो ।

तोकेकै मितिमा महाधिवेशन गर्न अबको साउन मसान्तभित्रै क्रियाशील सदस्यता वितरण र नवीकरण कार्य सम्पन्न गरी अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्ने हुन्छ ।

त्यतातिर पार्टी सभापति देउवाले पटक्कै ध्यान दिएका छैनन् । बरु, कोरोना महामारीलाई बहाना बनाउँदै क्रियाशील सदस्यता वितरण र नवीकरण स्थगन गरिएको छ ।

त्यतिमात्र होइन, आगामी कात्तिक दोस्रो साताबाट सुरु गरी मंसिर अन्तिम साता सम्पन्न गरिनुपर्ने प्रदेश अधिवेशन पनि टर्ने सम्भावना देखिन्छ । यसले केन्द्रीय महाधिवेशन समयमै हुनेमा आशंका बढाएको छ ।

कांग्रेसको खस्किएको छवि सुधार गर्न समयमै महाधिवेशन गर्नुपर्ने देखिन्छ ।

भलै, कांग्रेस केन्द्रीय कार्यालयले अहिलेसम्म २०७७ फागुन ७ गते नै १४औं महाधिवेशन सम्पन्न हुने जिकिर दोहोर्‍याइरहेकै छ ।

पार्टी केन्द्रीय कार्यालयले तोकिएकै समयमा महाधिवेशन हुने बताएपनि कोरोना महाव्याधीबीच पटक–पटक बसेको पार्टी पदाधिकारी र केन्द्रीय कार्यसमितिको बैठकमा यसबारे चर्चा हुन छोडेको छ ।

यो कतै ‘काले–काले मिलेर खाऊँ भाले’ भनेजस्तै देउवा र इतर पक्षबीच पार्टीको १४औं महाधिवेशन सार्न भित्रभित्रै सहमति त भएको होइन ? भन्ने प्रश्न बलियो बनेको छ । यसको जवाफ कांग्रेसका टाउके नेताहरुबाट आउनुपर्दछ ।

भिडियो हेर्नुहोस्