
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठकले विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने तीनवटा प्रतिवेदनमाथि छलफल गरेको छ ।
सोमबार पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको तीन प्रतिवेदनमाथि छलफल गरेको हो । बैठकपछि एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरूले विधान संसोधन सम्बन्धी प्रस्ताव, संघठन सम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रस्तावमा सुझाव दिएको बताउनुभयो ।
भट्टराईले स्थायी कमिटीले दिएका सुझावहरूलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा राखिने र केन्द्रीय कमिटीमा आएका सुझावलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिएको बताउनुभयो । बैठकले सबै पदाधिकारीहरू हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उहाँले बताउनुभयो ।
विभाग प्रमुख भट्टराईले पार्टी अब विधान राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्ने बताउनुभयो । प्रतिनिधिहरूको नामावली तयार गर्ने, व्यवस्थापन लगायतका काममा केन्द्रीत भएर विधान राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ लागिपर्ने निर्णय स्थायी कमिटीले गरेको उहाँले बताउनुभयो । आइतबारदेखि चलेको पार्टीको स्थायी कमिटी बैठक सोमबार सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्