
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आज विभिन्न सात जिल्लामा वडा अधिवेशन हुँदैछ । राजधानी काठमाडौंसहित काभ्रे, सिन्धुपाल्चोक, कपिलबस्तु, बर्दिया, बाजुरा र मोरङमा वडा अधिवेशन हुन लागेको हो ।
बाँकी १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद मिल्न बाँकी रहेकोले वडा अधिवेशनको टुंगो छैन । मोरङमा आज वडा अधिवेशन हुने भनिएपनि एउटा पक्ष अदालत पुगेको छ । सहमहामन्त्री सुनिलबहादुर थापा पक्षले अधिवेशन रोक्न माग गर्दै रिट दिएको हो ।
गत भदौ १८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएपनि प्रदेश नम्बर २ का ८ सहित १३ जिल्लाको विवाद कायमै छ ।
समयमै वडा अधिवेशन हुन नसक्दा कांग्रेसले असोज ९ गते गर्ने भनेको गाउँ/नगर अधिवेशन प्रभावित हुने भएको छ । वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्छन् । कांग्रेसले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस्