१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अध्यक्ष ओलीद्वारा दायर रिटको सुनुवाइ आज हुँदै


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ संघीय सांसद, सभामुख, निर्वाचन आयोग र लुम्बिनी प्रदेशका २ प्रदेशसभा सदस्यलाई पदमुक्त गर्ने मागसहित दायर गरेको रिटको सुनुवाइ आज पनि हुँदैछ ।

हिजो र अस्ती न्यायाधीशद्वय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासमा बहस भएको उक्त मुद्दा ‘हेर्दा हेर्दै’ मा राखिएको थियो। आजको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने निर्णय गर्नेछ ।

उक्त मुद्दामा अन्तरिम आदेश जारी भएमा माधवकुमार नेपालसहित १४ सांसदको पद गुम्न सक्छ । बहसका क्रममा निवेदक पक्षका कानुन व्यवसायीहरुले नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता गैरकानुनी रहेको जिकिर गरेका थिए ।

अधिवक्ताहरु बाबुराम दाहाल, रमेश वडाल, महेश न्यौपाने, रविनारायण खनाल, ईश्वरी भट्टराईलगायतले एकीकृत समाजवादी पार्टीको दर्ता गैर कानुनी भएको जिकिर गरेका हुन् । माधव नेपालसहित १४ जना विरुद्धको मुद्दाको कुनै औचित्य नभएको विपक्षी तर्फका कानुन व्यवसायी शम्भु थापाको जिकिर थियो ।