
काठमाडौं । ओमान, अमेरिका र नेपाल सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । मंगलबार नेपाली टोलीलाई क्यानका पदाधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकाल्दा पहिलो पटक लिग–२ को खेलमा ओमानलाई पराजित गर्दै ऐतिहासिक सफलता प्राप्त गर्यो । घरेलु टोलीलाई उसैको मैदानमा पराजित गर्नु टोलीका लागि राम्रो पक्ष भएको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले बताए ।
साथै आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ को तालिकामा स्थान सुधार समेत गरेर फर्किएको छ । लगानी गरे अनुसार युवा खेलाडीको प्रदर्शन राम्रो भएको भन्दै कप्तान ज्ञानेन्द्र मल्लले आगामी दिनमा थप अनुभवको जरुरी भएको बताए ।
कप्तान मल्लले सिरिजमा अझै राम्रो गर्नका लागि धेरै भन्दा धेरै खेलको खाँचो रहेको बताए । यस्तै प्रशिक्षक डेभ ह्वाटमोरको छोटो बसाइमा टोलीमा राम्रो छाप परे पनि दीर्घकालिन योजना अनुसार अगाडि बढ्न असर पर्ने मल्लको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्