
एजेन्सी । क्यानडाको प्रधानमन्त्रीको रूपमा जस्टिन ट्रूडोले तेस्रो कार्यकाल जिम्मेवारी सम्माल्ने हुनुभएको छ ।
संसदीय चुनावमा ट्रूडोको लिबरल पार्टीले सबैभन्दा धेरै सिटमा जित हासिल गरे पनि बहुमत प्राप्त गर्नबाट चुकेको छ । बहुमत सुनिश्चित गर्नबाट केही पछि परेको ट्रूडोको पार्टीले अल्पमतको सरकार बनाउने भएको हो ।
यसअघि पनि उहाँको पार्टीले अल्पमतको सरकार बनाएको थियो । कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोषणा गर्नुभएको थियो । कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन ।
सोमबार भएको मतदानको गणना जारी रहँदा ट्रूडोको पार्टी कुल ३ सय ३८ सिट मध्ये कम्तिमा १ सय ५८ सिटमा अघि रहेको छ । कन्जरभेटिभ पार्टी १ सय २१ सिटमा अघि रहेको छ । बिक्यू ३१, एनडिपी २६ तथा ग्रिन पार्टी दुई सिटमा अघि छन् ।
बहुमतका लागि १ सय ७० सिट चाहिन्छ । अल्पमतको सरकार बन्दा ट्रूडोले महत्वपूर्ण नीति नियमका लागि अरु पार्टीसँग सहकार्य गर्नुपर्ने भएको छ ।
चुनावी नतिजापछि प्रधानमन्त्री ट्रूडोले मोन्ट्रियलबाट गरेको सम्बोधनमा चाँडो चुनाव गर्ने आफ्नो निर्णय नागरिकलाई मन नपरेको स्वीकार गर्दै अब नियमित काममा फर्किने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्