१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सरकारी निर्णयले कालोधन भित्रने त्रास, देशलाई आर्थिक विश्रृङखलातिर जाने विज्ञको चेतावनी


0
Shares

नारायणी लामिछाने
काठमाडौं । सरकारले आयश्रोत नखुलेको वैदेशिक लगानी भित्र्याउने निर्णयसँगै पक्ष–विपक्षमा बहस सुरु भएको छ ।

कानुन खुकुलो बनाइँदा कालोधन भित्रिएर मुलुक वित्तीय अराजकतामा फस्ने अर्थविद्हरूले बताएका छन् । आयस्रोत खुलाउन नपर्ने भएपछि जस्तोसुकै लगानी पनि भित्रिन सक्ने र यसबाट नेपाली अर्थतन्त्र प्रभावित हुने उनीहरूको चेतावनी छ ।

नेपाल, फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) र एशियन प्यासिफिक ग्रुपको सदस्य राष्ट्र हो । यी संस्था वित्तीय अनुशासन सम्पत्ति सुद्धिकरण र स्रोत नखुलेको धनका विषयमा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय हुन् । यिनीहरूको वक्रदृष्टि पर्ने वित्तिक्कै नेपाल कालोसूचीमा पर्ने निश्चित छ ।

जानकारहरू लगानीको आयस्रोत नखुल्दा नेपालमा जोखिमपूर्ण लगानी भित्रनसक्ने त्रास व्यक्त गर्छन् । नेपाल राष्ट्र बैंकले समेत नेपाल भित्रने वैदेशिक लगानीको स्रोत विश्लेषण गरी नेपालको शान्ति सुरक्षा विरुद्ध हुने लगानीमा रोक लगाउँदै आएको छ ।

तर, सरकारले आयस्रोत नै नचाहिने गरी बाटो खोलिदिँदा कालोधन भित्रनसक्ने र नेपाललाई खतरा हुने ट्रान्सपरेन्सी इन्टरनेशनल, नेपालकी अध्यक्ष पद्मीनी प्रधानाङ्ग बताउनुहुन्छ । आयस्रोत खोजी नगर्दा नेपालभित्र भएको कालो धनलाई पनि सेतो बनाउन मद्दत पुग्ने उहाँको बुझाइ छ ।

जनताको आँखामा छारो हाल्ने काम सरकारले गर्न लागेको आफूहरूलाई मान्य नहुने प्रधानाङ्गकाे भनाइ छ । सरकारकाे प्रस्तावलाई संशोधन गनुपर्ने पक्षमा उहाँ हुनुहुन्छ ।

सरकारले यस्ताे निर्णय कुन उद्देश्यबाट ल्यायाे भन्नेमा सबैतिर अलमल छ । अर्थ मन्त्रालय नेकपा (माओवादी केन्द्र) नेतृत्वमा रहेकाले भूमिगत सम्पत्ति वैध बनाउने चाल हुनसक्ने अनुमान पनि गर्न थालिएकाे छ । यसअघि ०६५ मा डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि यस्तै निर्णय गर्नुभएको थियो ।

नेपालमा भित्रने वैदेशिक लगानी सकारात्मक हुने भए पनि आयस्रोत नै नखोजी भित्रने वैदेशिक लगानी भने शंकास्पद हुने अर्का अर्थविद् डा. विश्वम्भर प्याकुर्‍यालको विश्लेषण छ । नेपालमा पैसा भित्र्याउनु राम्रो कुरा भए पनि उक्त रकमको सदुपयोग हुनेमा उहाँ शंका गर्नुहुन्छ । ‘सरकारले निर्णयले राम्रो गर्छ भन्न सकिँदैन,’ उहाँ बताउनुहुन्छ, ‘यसरी आउने रकमबाट हुने हानी र क्षति बेहोर्नसक्ने सामर्थ्य सरकारसँग हुनुपर्छ ।’

देश विकासमा लागि वैदेशिक अनुदान, वैदेशिक लगानी र ऋण आवश्यक हुन्छ नै । तर, आयस्रोत नै नखुल्ने किसिमका वैदेशिक लगानीले भने देशैलाई नै आर्थिक विश्रृङखलातिर लैजाने विज्ञहरूको दाबी छ । रातारात लगानी भित्र्याउने नाममा गरिने हतारको निर्णय फुर्सदमा पछुताउने माध्यम नबनोस् ।