२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


इलामको माइजोगमाईमा खानेपानी नहुँदा स्थानीय र भारतीय पर्यटकलाई सास्ती

३ हजार ७० मिटर उचाइमा पानी पुर्याउन प्रयासरत स्थानीय सरकार

0
Shares

प्रकाश नेपाल
इलाम । नेपाल भारतका पर्यटकको घुइँचो हुने इलामको माइजोगमाईका विभिन्न स्थानमा खानेपानीको ठूलो समस्या छ ।

भारतीय सीमा क्षेत्रमा पर्ने मेघ्मा, तुम्ङ्गि, सन्दकपुरलगायतका क्षेत्रमा खानेपानीको पर्याप्त सुविधा नहुँदा स्थानीय र पर्यटकले सास्ती ब्यहोर्नु परेको छ ।

इलाम जिल्लाको माइजोगमाई गाँउपालिका–२ मा अवस्थित टङ्लु प्राकृतिक सुन्दरतासँगै पर्यटकको घुमफिरको केन्द्र बने पनि खानेपानीको समस्या छ ।

हिमालको काखझैँ देखिने डाँडामा बस्ती र पानीको मुहान तल्लो क्षेत्रमा हुँदा टङ्लुबासीले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।

भौगोलिक हिसाबले उच्च पहाडी क्षेत्रमा रहेको टङ्लुसहित सीमा क्षेत्रमा बस्ती बसे पनि अहिलेसम्म खानेपानीको पर्याप्त सुविधा नभएको स्थानीय मानबहादुर गुरुङ्गको भनाइ छ ।

टङ्लु क्षेत्र समुन्द्र सतहबाट ३ हजार ७० मिटर उचाईमा पर्दछ । हिमाली दृश्य र प्रकृतिक सुन्दरतामा रमाउन पाइने टङ्लु सहित मेध्मा, तुम्लिङ्ग, सन्दकपुर लगायतका स्थानमा भारत भएर वर्षमा हजारौं पर्यटक पुग्ने भएकाले खानेपानीको प्रयोग अधिक हुन्छ ।

नेपाल भारत सीमा क्षेत्रमा पर्ने ती क्षेत्रमा पर्यटकको सुविधाका लागि होमस्टे र होटलहरू सञ्चालनमा रहेकाले खानेपानी र विद्युत विस्तारको काम क्रमागत रूपमा गरिने माईजोगमाई गाउँपालिकाले जनाएको छ ।

इलामको सबैभन्दा अग्लो डाँडो, सन्दकपुर पनि यहि बाटो भएर जाने गरिन्छ । सन्दकपुर एउटा यस्तो थुम्को हो, जहाँ धपधप बलेको सूर्य हेर्नेको नजिकै भएझैं देखिन्छ ।