
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ ।
पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल गरी सुझावसहित पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।
समूह १ बाट रामकुमार झाँक्री, समुह २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभुत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने बताउनुभएको प्रचार विभाव प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
आफूहरू तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहेको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘जनताको बहुदलीय जनवादको सन्दर्भमा उठेका प्रश्नहरुको बारेमा उहाँ (माधव नेपाल)ले प्रष्टिकरण दिदैँ भन्नुभएको छ की, जनताको बहुदलीय जनवाद पनि मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकासको सन्दर्भमा देखापरेको त्यसको सिर्जनात्मक अध्याय हो । यसलाई हामीले थप विकसित गर्नेछौँ ।’
एमालेले जबजलाई कुरुप बनाउँदै लगेको बताउँदै अध्यक्ष नेपालले आफूहरू जबजका सारभुत विचारहरूलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने हामीले अठोटमा रहेको बताउनुभयो ।
बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै नेताहरू मार्फत् पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरू आएको भन्दै पार्टीको चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिनुभयो ।
पार्टी केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे पनि बस्ने र उक्त बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाउने उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्