
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु प्रदुषण आँकलन गरिएभन्दा पनि घातक भएको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएको छ ।
वायु प्रदुषणको प्रमुख कारकमध्ये नाइट्रोजन अक्साइडले उच्च सुरक्षा तहको मापदण्ड घटाएको उसको अध्ययनले देखाएको छ । वायु प्रदुषणका कारण विश्वभर हरेक वर्ष करिब ७० लाख मानिसको अकालमा मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
‘वायु प्रदुषणबाट न्यून तथा न्यूनमध्यम आय भएका देशका नागरिक बढी प्रभावित भएका छन्,’ उसले भनेको छ । आर्थिक विकासका लागि जीवाष्म इन्धनमा भर पर्नेको संख्या अधिक हुँदा प्रभाव बढी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । धुम्रपान र अस्वस्थकर खानपान सरह नै वायु प्रदुषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ ।
डब्लुएचओले आफ्ना १ सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गर्न र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि प्रयास थाल्न आग्रह गरेको छ । आगामी नोभेम्बरमा हुने कोप २६ सम्मेलन अघि नै प्रयास थाल्न डब्लुएचओले आग्रह गरेको हो । डब्लुएचओले बुधबार वायु प्रदुषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्