
काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभालाई बिरामी बनाएको आरोप लगाउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले सभामुखले संसदलाई बिरामी बनाएको बताउँदै त्यसको उपचारका लागि अप्रेसन नै गर्नुपर्ने बताउनुभयो । उहाँले प्रतिनिधिसभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने जिकिर गर्नुभयो । नकारात्मक प्रतिक्रियालाई रोक्न सभामुख इमान्दार हुनुपर्नेमा जोड दिनुभयो ।
सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको सांसद वलीको भनाइ छ । उहाँले सभामुखको राजीनामासमेत माग्नुभयो ।
‘कुनैपनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरू उत्पन्न हुन्छन्, धेरै रोगहरू जन्मन्छन्,’ सांसद वलीले भन्नुभयो, ‘जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याय, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सन उत्पन्न हुनसक्छन्, त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नको लागि सभामुख इमान्दार हुनुपर्छ ।’
‘सभामुखज्यूले त्यो कुर्सीको महत्व राख्नसक्नुपर्छ, महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुनपुग्यो,’ उहाँले भन्नुभयो, ‘अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनुभएको छ, सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्सन, एन्टिबायोटिकले पनि भ्याउँदैन र अप्रेशन नै गर्नुपर्छ ।’
सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रियसभाको कारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्