२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


भल्कोटका स्थानीयकाे जीवन : पाँच महिना लेक, सात महिना बेसी

पशुचौपाया चराउनु र घाँस काटेर खुवाउनु नै दैनिकी

0
Shares

डम्मर बुढामगर
बागलुङ । बागलुङको भर्कोबाङमा यतिबेला गोठाला र वस्तुभाउको चहलपहल छ । पहाडको टुप्पोमा रहेको भर्कोबाङ समथर देखिन्छ । यही समथर क्षेत्रमा भल्कोटका स्थानीयहरू पशुचौपाया चराउँछन् । असोज लागेसँगै लेकबाट उनीहरू आफ्ना पशुचौपाया बेसीतिर झार्छन् ।

भर्कोबाङको समथर पाटाहरूमा केही बाँझो र केही मकै भित्राएर बाँकी रहेको डोढमात्र देखिन्छ । यी समथर पाटाहरूमा सैयौंको संख्यामा पशुचौपाया चरिरहेका छन् । छेउमै त्रिपाल र बलाङले छाएका गोठहरू छन् । गोठालाहरू भर्कोबाङमा रहँदासम्म यही गोठमा बस्छन् ।

चारैतिर पशुचौपायाले भरिएको मर्काबाङ अब १५ दिन पशुचौपायाले भरिभराउ हुन्छ । वैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्ने भल्कोटीहरू असार १५ सम्मा लेकमा पुग्छन् । ४–५ महिना लेकमा बसेर पशुचौपाया चराउँदा उनीहरू चोयाबाट विभिन्न किसिमका सामग्री बनाउनुका साथै घ्यू उत्पादा र बिक्री गर्छन् ।

लेक जाने समय वैशाखदेखि असारसम्म भए निश्चित भए पनि गोठ झार्ने समय भने तोकिएको छ । भल्कोटीहरूले असोज ५ गतेदेखि मात्र गोठ झार्न पाउँछन् । परम्परादेखि नै चलि आएकाले निश्चित समय तोकिएको स्थानीय प्रकाश बुढा मगर बताउनुहुन्छ । असोज ५ अघि नै गोठ सारे जरिवाना लाग्ने उहाँको भनाइ छ ।

धेरैजसो गोठालाहरू असोज ५ मै बेसी झर्ने गर्दछन् । भेडी गोठालाहरू भने केहीपछि मात्र झर्छन् । महिनौंपछि परिवारसँग भेट गर्न पाएका उनीहरूका लागि त्यो दिन उत्सव झैँ मनाउँछन् । ५ गते भन्दा अगाडि वा पछाडि बेसी झर्दा पुर्खाहरूले बनाएको नियम भत्किने भल्कोटीहरू बताउँछन् ।

स्थानीय रामबहादुर घर्ती मगर, बर्खाको समयमा बेसीमा चौपायाहरू पाल्नै नसकिने हुँदा लेक लैजानु परेको बताउनुहुन्छ । बर्खामा घाँस अभाव र अन्य समस्याले आफूहरू यहाँ टिक्नै नसक्ने उनको भनाइ छ । भल्कोटीहरू वैशाखसम्म बेसीमै बस्छन् । वैशाखसम्म गाउँकै बारीमा पशुचौपाया चराउनु र घाँस काटेर खुवाउनु उनीहरूको दैनिकी हो । मुख्य पेशा नै पशुपालन भएकाले उनीहरू वर्षेनी लेकबेसी गर्छन् ।