२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


महाधिवेशन मंसिरमै हुनेमा शंका छ– गगन थापा

‘ओली र एमालेलाई संसदप्रति घृणा जागेकाले अवरोध सिर्जना गरिएको हो’

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४औं महाधिवेशन समयमै हुनेमा शंका व्यक्त गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पार्टीको १४औं महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताउनुभयो । बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उहाँको भनाइ छ ।

मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको उहाँले बताउनुभयो । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र दिएको जिम्मेवारी नेताहरूले पूरा नगरी जवाफदेहिताविनाको राजनीति गरिएको उहाँले टिप्पणी गर्नुभयो । जिम्मेवारी पाएका नेताहरू जवाफदेही नहुँदा पार्टीमा मनलाग्दी बढेको उहाँको भनाइ छ ।

‘महाधिवेशनको बाँकी १३ जिल्लाको सदस्यताका कुराहरू टुंग्याउने कुरा तत्काल आजभोलि गरिए र तिथिमिति सार्दै जाने हो भने थप अन्योल हुँदै जान्छ,’ उहाँले भन्नुभयो, ‘मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्नसक्ने अवस्थामा म छैन, महाधिवेशनको तिथिमिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभएको । संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै उहाँले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न । उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो । संसदलाई वेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुर्नस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ ।’

नेता थापाले प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरूले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गर्नुभयो । एमालेको अवरोधले सांसदहरूले संसदमा आफ्नो भुमिका समेत निर्वाह गर्न नपाएको बताउनुभयो । एमालेको प्रस्तुतिले संसदीय पद्धतीको गरिमा राख्न नसक्ने उहाँको भनाइ छ ।