
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गर्नुभभयो । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले बिहीबार काठमाडौंमा आयोजना गरेको बृहत भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक सटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गर्नुभयो । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए विचराहरूको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनुपरेको उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले आफूले बनाइदिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिनुभयो । उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइ दिएको नयाँ घरमा सर्दै हुुनुहुन्छ । एकचोटी तालि बजाउनूस् । सर्दै हुुनुहुन्छ । हाम्रो समयमा हामीले बनाएको हो । त्यसमा सर्दै हुुनुहुन्छ । मलाई खुसी लाग्छ उहाँले रिवन काटनु हुनेछ, बत्ति बाल्नुहुनेछ । उद्घाटन गर्नुहुुनेछ ।’
उहाँले थप्नुभयो, ‘घर हामीले बनायौं रिवन उहाँले काट्नुहुन्छ । घर हामीले बनायौं बत्ति उहाँले बाल्नु हुन्छ । तार हामीले जोड्यौ । प्लग बनायौं उहाँले थिच्नु हुनेछ । यस्ता थुप्र्रै कामहरु जुन हामीले ग¥यौं । त्यही अपराध हो । सही नसक्नु भएको यही हो । यो एमाले त अव दुई वर्ष सरकारमा टिक्ने हो भने विचराहरुको सटर बन्द हुन्थ्यो सटर । घ्यार्रर सटर तान्नु पर्दथ्यो । राजनीतिक सटर छ नि !’
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाटो ल्याउने गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘माके पार्टी, माने पार्टी हेनुस् न । यी पार्टीले राष्ट्रिय एकताको नभइ फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलव छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलब छैन । स्वाधिनताको मतलब छैन । भौगोलिक अखण्डताको मतलब छैन । राष्ट्रिय हितको मतलब छैन । राष्ट्रिय स्वाभिमानको मतलब छैन । तर त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ । मलाई कुनै कमेन्ट गर्नु छैन ।’
उहाँले थप्नुभयो, ‘अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुुनुहुन्छ उहाँहरू कोही विकाउको माल छ कि ! कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि ! खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीति त्यस्तो होइन । हाम्रो राजनीति, आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’
अध्यक्ष ओलीले आगामी मंसिरभित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबीसमेत गर्नुभयो । उहाँले सत्ताको दूरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी संगठन, विद्यार्थी संगठन, युवा संगठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्तिसमेत जनाउनुभयो ।
अध्यक्ष ओलीले मदन भण्डारीको छोरी उषाकिरण भण्डारीलाई मेडल दिएको भनेर सत्ता पक्षले विल्कुलै झुट बोलेको बताउनुभयो । आफूले मदन भण्डारीलाई मरनोपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उहाँको आपत्ति छ ।
अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रूपमा चित्रण गर्नुभयो । फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यंग्य थियो । उहाँले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदुतहरूलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्